top of page

मानिसको शरीरमा प्रतिदिन कति प्रोटिन चाहिन्छ र कमी हुँदा के हुन्छ ?

Protein for Human Body

हामी शरीरलाई प्रोटिन चाहिन्छ भनेर जानेर वा नजानी धेरै कुराहरू खाइरहेका हुन्छौँ । तर हामीले खाएको खानाले शरीरका लागि पर्याप्त र सन्तुलित प्रोटिन प्रदान गरिरहेको छ कि छैन भनेर भनेर ध्यान नदिँदा स्वास्थ्य राम्रो बन्नुको सट्टा झनै खराब बनिरहेको हुन्छ । जसले गर्दा शरीर कमजोर हुने, प्रतिरक्षा प्रणाली कमजोर हुने र दीर्घकालीन रोगहरू निम्तिने जोखिम बढिरहेको हुन्छ । 


प्रोटिन के हो ? 

प्रोटिन शरीरको लागि अतिआवश्यक पोषक तत्त्व हो, जुन एमिनो एसिडहरू मिलेर बनेको हुन्छ । मानव शरीरमा २० प्रकारका अमिनो एसिडहरू हुन्छन् । ती मध्ये ९ वटा आवश्यक अमिनो एसिड हाम्रो शरीर आफैँले बनाउन सक्दैन, खानाबाट लिनुपर्छ । र बाँकीका अमिनो एसिडहरू शरीरले आफैं बनाउँछ । यी एमिनो एसिडहरू मांसपेशी, हड्डी र अंगहरूको वृद्धि, हर्मोन र इन्जाइम बनाउन, साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनका लागि आवश्यक हुन्छन् । तिनीहरूले इन्जाइम र हर्मोन उत्पादन गर्न र प्रतिरक्षा कार्यलाई समर्थन गर्न पनि मद्दत गर्छन्।


हाम्रो शरीरमा प्रतिदिन कति प्रोटिन चाहिन्छ?

व्यक्तिको शारीरिक क्षमता र स्वास्थ्य अवस्थाअनुसार प्रोटिनको मात्रा फरक हुन्छ । नेसनल एकेडेमी अफ मेडिसिन (NAM) र युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर (USDA) का अनुसार, शरीरको तौलको हिसाबमा मानिसलाई प्रतिदिन ०.८ ग्राम प्रोटिन आवश्यक हुन्छ । उदाहरणका लागि, ६० किलोग्राम तौल भएको व्यक्तिलाई दैनिक करिब ४८ ग्राम प्रोटिन, ७० किलोग्राम तौल भएको व्यक्तिलाई ५६ ग्राम र ९० किलोग्राम तौल भएको व्यक्तिलाई ७२ ग्राम प्रोटिन आवश्यक पर्छ । यदि स्ट्रेन्थ तालिम गरिरहनुभएको छ भने तौलको हिसाबले प्रतिकिलोग्राम १.५ देखि २ ग्राम प्रोटिन आवश्यक पर्न सक्छ ।


साना बालबालिकालाई पाँच वर्षको उमेरअघि दैनिक करिब १० ग्राम प्रोटिन चाहिन्छ । त्यस्तै गर्भावस्थामा प्रोटिनको आवश्यकता बढेर करिब ७२ ग्रामसम्म पुग्न सक्छ ।


प्रोटिनको कमी भयो भने के हुन्छ ?

प्रोटिनले मानिसको मानसिक विकासदेखि मांसपेशीको विकासमा समेत मद्दत गर्छ । तर शरीरमा प्रोटिनको कमी हुँदा थकान र कमजोरी महसुस हुन थाल्छ । र मान्छे दुब्लाउँदै जाने हुन्छ । बच्चामा प्रोटिनको कमी भएमा सुकेनास र फुकेनासको समस्यासमेत देखिन्छ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत असर पर्छ । जसले गर्दा जोर्नीको लचिलोपन हराउँछ र जोर्नी दुख्ने, हड्डी कमजोर भई बारम्बार फ्याक्चर हुने, हातखुट्टा सुन्निने, प्रतिरक्षा प्रणाली कमजोर भई छिटो बिरामी पर्ने, कपाल झर्ने र फुस्रोपन हुने, नङ टुक्रिने, मांसपेशी कमजोर हुने तथा छाला चिलाउने, रातो हुनेजस्ता समस्या देखिन सक्छन् । साथै उच्च रक्तचापको जोखिम बढ्ने मधुमेह, र शरीरको चाल कम हुने, हड्डी खिइने, नसा च्यापिने, अस्टियो पोरोसिसजस्ता दीर्घरोगहरू देखा पर्छन् । महिलाहरूमा हर्मोन असन्तुलनका कारण महिनावारीमा अनियमितता देखिने र पिसिओएसजस्ता समस्या समेत निम्तिन्छ । 


धेरै सेवन गर्दा के हुन्छ?

प्रोटिन खाने भनेर जथाभावी धेरै सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले मृगौलामा असर पुर्याउन सक्छ । जब शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ तब मिर्गौलाले काम धेरै गर्नुपर्छ । र दिर्घकालिन रुपमा मिर्गौलाको समस्या हुन्छ र पहिल्यै उच्च रक्तचाप भएका बिरामीका हकमा पछि गएर मिर्गौला नै काम नलाग्ने जस्तो गम्भिर समस्या हुन्छ ।  


धेरै प्रोटिन खाँदा शरीरमा क्याल्सियम जम्मा भएर पथरी (किड्नी स्टोन) बन्ने सम्भावना बढ्छ । मांसाहारी प्रोटिन धेरै सेवन गर्दा कब्जियत, पेट भारी हुने र अपचजस्ता पाचनसम्बन्धी समस्या पनि देखा पर्न सक्छ । यस्ता खानमा बोसो धेरै हुने भएकाले रगतमा कोलेस्ट्रोल बढ्ने र मुटुरोगको जोखिम बढ्ने सम्भावना पनि हुन्छ । साथै, आवश्यकता भन्दा बढी प्रोटिन र क्यालोरी शरीरमा बोसोको रूपमा जम्मा भएर तौल बढ्न सक्छ । त्यसैले, प्रोटिन शरीरका लागि जरुरी भए पनि सन्तुलित मात्रामा सेवन गर्नु नै स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ ।


प्रोटिन मानव शरीरको वृद्धि, विकास र स्वस्थका लागि अत्यावश्यक पोषक तत्त्व हो । यसले मांसपेशी, हड्डी, हर्मोन, इन्जाइम र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ । तर शरीरको आवश्यकता नबुझी प्रोटिन सेवन गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । त्यसैले उमेर, तौल, शारीरिक गतिविधि र स्वास्थ्य अवस्थाअनुसार सन्तुलित मात्रामा प्रोटिनयुक्त आहार सेवन गर्नु नै दीर्घकालीन स्वस्थ जीवनका लागि सबैभन्दा उपयुक्त उपाय हो ।



References: 


Comments


bottom of page